बागमतीका नवनियुक्त प्रदेश प्रमुख देवकोटाद्वारा पदभार ग्रहण
१८ श्रावण, हेटौँडा । बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले पदभार ग्रहण गर्नुभएको छ ।
बिहिबार राष्टपति रामचन्द्र पौडेल मार्फत शपथग्रहण गर्नुभएका उहाँले शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो । नवनियुक्त प्रदेश प्रमुख देवकोटालाई निबर्तमान प्रदेश प्रमुख यादब चन्द्र शर्माले पदभार ग्रहण गराउनुभएको हो । त्यसअघि उहाँलाई निवर्तमान प्रदेश प्रमुख शर्मा सहित मुख्यमन्त्री बहादुर सिं लामा, सभामुख भुवन पाठक, प्रदेश सरकारका मन्त्रीहरुले कार्यालयमा स्वागत गर्नुभएको थियो । पदभार ग्रहण गरेपश्चात आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रदेश प्रमुख देवकोटाले नेपालको संविधान र कानुनको अधीनमा रही विधि प्रक्रिया अपनाएर आफूले कामकाज गर्ने बताउनुभयो । उहाँले आफ्नो अनुभव, भिजनलाई बागमती प्रदेशको उन्नति र समृद्धिको लागि सदुपयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँ बागमती प्रदेशको चौथो प्रदेश प्रमुख हुनुहुन्छ । यसअघि बागमती प्रदेशमा अनुराधा कोइराला, विष्णुप्रसाद प्रसाई, यादवचन्द्र शर्माले प्रदेश प्रमुखको कार्यभार सम्हाल्नुभएको थियो ।