विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित
१६ श्रावण, हेटौँडा । बागमती प्रदेशसभा बैठकले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।
बुधबार बसेको प्रदेशसभा बैठकले उक्त विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो । प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले पेस गरेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई सभामुख भुवन कुमार पाठकले निर्णयाथ पेस गरेका थिए । सभामुख पाठकले निर्णयार्थ पेस गरेको उक्त विधेयकलाई बैठकमा उपस्थित सांसदहरूले सर्वसम्मतले स्वीकृत गरेका थिए । त्यसअघि प्रदेशसभा बैठकले उक्त विधेयक माथि छलफल गरी शिक्षा स्वास्थ्य तथा कृषि समितिले तयार पारेको निर्णयसहितको प्रतिवेदन पेस भएको थियो भने सो उपर छलफल भएको थियो । सभामुख पाठकले अर्को सुचना जारी नभएसम्मको लागि प्रदेशसभा बैठक स्थगित गर्नुभएको छ ।