बाढी पहिरोको अवरोध हटाउन द्रुत प्रतिकार्य टोली गठन

स्वर्णिम खबर
१६ श्रावण २०८१, बुधबार १९:०८

१६ श्रावण, हेटौँडा । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशस्तरीय विपद् द्रुत प्रतिकार्य टोली (क्युआरटी) गठन गरेको छ ।
बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच भौतिक पूर्वाधार विकासमन्त्री अमन कुमार मास्केले यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्कर प्रसाद पोखरेल संयोजक रहेको प्रतिकार्य टोलीलाई जिम्मेवारी प्रदान गर्नुभएको हो । प्रतिकार्य टोलीले मनसुनजन्य तथा अन्य प्राकृतिक विपद्बाट अवरुद्ध हुन सक्ने मुख्य प्रादेशिक सडकहरुको पहिचान गर्ने, पूर्व सूचना सम्प्रेषण गर्ने, सडक अवरुद्ध हुँदा वैकल्पिक मार्ग पहिचान गर्ने कार्य गर्नेछन् । त्यस्तै, आकस्मिक रुपमा अवरुद्ध सडकहरु यथाशीघ्र सुचारु गर्ने, अन्तरनिकाय समन्वय गर्ने, कार्यालयगत रूपमा आकस्मिक मर्मत सम्भार शीर्षकमा विनियोजित बजेटबाट स्रोत व्यवस्थापन गर्ने र प्रचलित कानुनको अधीनमा रही टोली स्वयंबाट निर्धारित अन्य कार्यक्षेत्रगत सर्तहरूको कार्यान्वयन गर्ने गराउने कार्य गर्नेछन् ।
विपद् प्रभावित सडकहरूको अवस्था सुधार गर्न द्रुत प्रतिकार्य टोली प्रभावकारी बन्ने मन्त्रालयको विश्वास छ । प्रदेश सडकको अवस्थाबारे बुझ्न तत्काल मोवाईल टिम खटाउने र त्यसबारेमा सञ्चारमाध्यमबाट सूचना प्रवाह गर्ने मन्त्री मास्केले बताउनुभयो ।
द्रुत प्रतिकार्य टोलीका सदस्यहरूमा मन्त्रालयका महाशाखा प्रमुख सिनियर डिभिजन इन्जिनियर सुजन भण्डारी, मन्त्रालयका विपद् फोकल पर्सन ज्यानेन्द्रप्रसाद पुन, यातायात पूर्वाधार निर्देशनालयको निर्देशकले तोकेको अधिकृत स्तरको प्रतिनिधि र सम्बद्ध पूर्वाधार विकास कार्यालयका प्रमुख रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*