समय सीमाभित्र संसद भवनको निर्माण कार्य सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन
१५ श्रावण, काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित संघीय संसद भवन निर्माण कार्यप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
मंगलवार अनुगमनको क्रममा पहिलो पटक त्यहाँ पुग्नुभएको उहाँले थप गरिएको समयभित्र निर्माण कार्य सम्पन्न हुनेगरी निर्माण कम्पनीले काम नगरेपछि असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले सबै सम्भावनाहरुलाई प्रयोग गरेर भएपनि थप गरिएको समय सीमाभित्र सो भवन निर्माण कार्य सम्पन्न गर्न पनि निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । पछिल्लो पटक थप गरिएको समय अब नौ महिना बाँकि रहेकाले त्यसमा सम्पन्न हुनेगरी कामहरुको संख्या बढाएर कामलाई तिब्रता दिन पनि उपप्रधानमन्त्री सिंहले निर्माण कम्पनीलाई सचेत गराउनु भयो । उपप्रधानमन्त्री सिंहले समयमै काम सम्पन्न हुनेगरी दैनिक तीन सिफ्टमा काम गर्न आफूहरुले निर्माण कम्पनीलाई घच्घच्याउने काम गरिरहेको बताउनु भयो ।
शहरी विकास मन्त्रालयले सो काम छिटो सम्पन्नका लागि कामदारको संख्या दोब्बर बनाउन पनि निर्माण कम्पनीलाई दबाब दिँदै आएको छ । तर ठेकदार कम्पनीले सो अनुसार काम नगरेको मन्त्रालयका सचिव मनिराम गेलालले बताउनु भयो । उहाँका अनुसार आगामी नौ महिनाभित्र अथवा आगामी चैत्र १८ गतेसम्मका सो भवनको निर्माण कार्य सम्पन्न गरिसक्ने पछिल्लो सम्झौता छ ।