विश्व बैंकबाट १३ अर्ब ३३ करोड रुपैयाँ बराबरको सहुलियत पूर्ण ऋण स्वीकृत
१४ श्रावण, काठमाडौँ । सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमको लागि करिव १३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियत पूर्ण ऋण लिने भएको छ ।
२०८१ साल साउन १० गतेको मन्त्रीपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण अन्तर्गत उपलब्ध हुने १३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियत पूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले सडक सुधार आयोजनाको स्थानीय सरकारको सहयोगमा प्रदेश सरकारले कार्यान्वयन गरी संघ सरकारले मूल्याङ्कन तथा अनुगमन गर्ने पनि बताउनुभयो । उहाँले तल्लो मोदी, नयाँ मोदी १३२ केभी प्रशारण लाइन आयोजना अन्तर्गत पर्वत जिल्लामा करिव ० दशमलब ९४७ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय भएको बताउनुभयो । सरकारले गरिब परिवार पहिचान तथा परिचयपत्र निर्देशिका २०७५ अनुसार १५ जिल्लाका २ लाख ७१ हजार ६ सय ४० गरिव परिवारको अन्तिम सूची स्वीकृत गर्ने निर्णय भएको सञ्चारमन्त्री गुरुङले जानकारी दिनुभयो ।
सञ्चारमन्त्री गुरुङले नेपाल सरकारको नाममा दर्ता रहेको कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका अन्तर्गत बासखोर स्वास्थ्य चौकीको भवन निर्माणका लागि जग्गा उपयोग गर्न स्वीकृत दिने निर्णय भएको पति बताउनु भयो ।