बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित मन्त्रीहरुद्वारा शपथ ग्रहण

स्वर्णिम खबर
९ श्रावण २०८१, बुधबार १३:०१

९ श्रावण, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
मंगलबार नियुक्त हुनुभएका मुख्यमन्त्री लामाले बुधबार प्रदेश प्रमुख कार्यालय हेटौँडा एक समारोह बिच प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।
नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ सहित ६४ सांसद्को समर्थनमा नेपालको संविधानको धारा १६८ को २ बमोजिम कांग्रेस प्रदेश संसदीय दलका नेता लामा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।


यसैगरी नवनियुक्त मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री लामाले एमालेका ६ जना र कांग्रेसका ३ जनालाई मन्त्रीहरु नियुक्त गरी मन्त्रीपरिषद् गठन गर्नुभएको हो । एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गरेका छन् ।


यसैगरी कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का, मधु कुमार श्रेष्ठले शपथ ग्रहण गरेका हुन । उनीहरुको जिम्मेवारी भने तोकिएको छैन । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख शर्माले शपथ ग्रहण गराउनुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*