भ्रष्टाचार नियन्त्रणका लागि प्रवद्र्धनात्मक, निरोधात्मक र उपचारात्मक उपाय अवलम्वन गरिन्छः प्रधानमन्त्री ओली
७ श्रावण, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि एकीकृत रुपमा प्रवद्र्धनात्मक, निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्वन गरिने बताउनुभएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार न्युनिकरण र सदाचार पद्धतीको प्रयोग गर्दै राज्यका समग्र क्षेत्रमा सुशासन कायम गर्नका लागि प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिइने बताउनुभयो । उहाँले सरकारका सबै अंगहरुमा आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउने बताउनु भयो । प्रधानमन्त्री ओलीले सार्वजनिक खरिद कानूनको समसामयिक संशोधन र परिपालनालाई सशक्त र प्रभावकारी बनाइने पनि बताउनुभयो । उहाँले वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि जोखिममा आधारित मूल्याङ्कन प्रणाली अवलम्वन गर्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले राजश्व परिचालनलाई प्रभावकारी बनाई आर्थिक सुशासन कायम गर्न केन्द्रिय बिजक अनुगमन प्रणाली, भिसिटिएस सूचना प्रणाली, भुमी व्यवस्थापन तथा अभिलेख सूचना प्रणालीबीच अन्तरआवद्धता कायम गरी एकीकृत करदाता, सूचना प्रणालीको विकास गरिने जानकारी दिनुभयो ।