एमालेसंगको ७ बुँदे सहमति कार्यान्वयन हुने शंका छः महामन्त्री थापा
५ श्रावण, काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँग गरिएको सात बुँदे लिखित सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्नुभएको छ ।
महामन्त्री थापाले असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिने क्रममा संसदमा सोबारे संसय नहुने गरी स्पष्ट धारणा राख्नुपर्ने समेत बताउनुभयो । जय नेपाल फाउण्डेशनले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीबीच विगतमा पनि धेरैपटक धोकाधडीको राजनीति भएकाले सरकार आलोपालोमा चलाउने लगायतका दुइ पार्टीबीच भएको लिखित ७ बुँदे सहमति कार्यान्वयन हुनेमा सबै मानिसमा संसय रहेको जिकिर गर्नुभयो । उहाँले काँग्रेसले सो समझदारी कार्यान्वयन गरेर अघि बढ्ने विश्वास दिलाउदै एमाले पनि सो विश्वास दिलाउनुपर्ने धारणा राख्नुभयो ।
महामन्त्री थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अन्य दललाई सधैँभरी झुक्क्याउन सक्छु भन्ने भ्रम र चकचकको कारणले काँग्रेस र एमालेले मिलेर सरकार बनाउनुपर्ने अवस्था आएको पनि उल्लेख गर्नुभयो । उहाँले आफू भने एमाले माओवादीसहितका दलहरु मिलेर बनेको सरकारलाई चलाउने पक्षमा नभएपनि दाहाल स्वयंले नयाँ सरकार बनाउने परिस्थिति निर्माण गरेको बताउनु भयो ।
महामन्त्री थापाले दुई ठूला दलहरुको विश्वास जनतामा गुम्न नदिन पनि दुवै दलबीच भएको सहमती कार्यान्वयनमा आशंका गर्ने अवस्था आउन दिन नहुने तर्क गर्नुभयो ।