प्याब्सन मकवानपुरद्वारा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु सम्मानित
४ श्रावण, हेटौँडा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मकवानपुरले एसईई परीक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयहरूलाई सम्मान गरेको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्याब्सनले एसईई परीक्षामा ३.६ भन्दा माथिको जीपीए ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
४ जीपीए प्राप्त गरी जिल्लामै सर्वोत्कृष्ट नतिजा हासिल गरेकी बालजागृती इङ्गलिस सेकेण्डरी बोर्डिङ स्कुलकी छात्रा रितिका छत्कुली र छात्रतर्फ ३ दशमलब ९५ जीपीए नतिजा हासिल गरेका हरि चन्द्र मुखिया सहित २ सय ५७ जनालाई सम्मान गरिएको हो ।
बालजागृती बोर्डिङका ३४ जना, आधुनिक राष्ट्रिय माविका ३० जना, नवोदय शिशु सदनका २२ जना, भुटनदेवी माविका १५ जना, ज्ञानदिप माविका १५ जना, हेटौँडा एकेडेमीका ८ जना लगायत अन्य विद्यालयका विद्यार्थीहरू सम्मानित भएका थिए । प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीको सभाध्यक्षता एवम् हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख लामाले शिक्षा क्षेत्रलाई राजनीतिबाट अलग राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीले विद्यार्थीहरूलाई आफ्नो योग्यता र रुचि अनुसार उच्च शिक्षाको क्षेत्र छनौट गर्न सुझाव समेत दिनुभयो ।
कार्यक्रममा प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठ, राष्ट्रिय परिक्षा बोर्डका कृष्ण प्रसाद घिमिरे, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दिनानाथ गौतम, प्याब्सन मकवानपुरकाका वरिष्ठ सल्लाहकार मदन कुमार दाहाल लगायतको सहभागिता रहेको थियो ।
यस वर्षको एसईई परीक्षामा मकवानपुर जिल्लाबाट कुल ५ हजार ९ सय २५ विद्यार्थी सहभागी भएकोमा २ हजार ९८ जना विद्यार्थी उत्तीर्ण भएका थिए ।