बागमती प्रदेशसभाको बैठक साउन ६ गतेको लागि आह्वान
२ श्रावण, हेटौँडा । बागमती प्रदेशसभाको बैठक साउन ६ गते बोलाइएको छ ।
प्रदेशका सभामुख भुवनकुमार पाठकले साउन ६ गते दिउसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाउनु भएको हो । संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्ने भएकाले बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । सभामुख पाठकले बागमती प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठक साउन ५ गते शनिबार दिउँसो ३ बजेका लागि राख्नुभएको छ ।
नयाँ सत्ता समीकरण अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले केन्द्रमा सरकार गठन गरेकाले बागमतीमा पनि नयाँ सरकार गठन हुँदैछ । ११० सदस्यीय बागमती प्रदेश सभामा नेपाली कांग्रेसको ३७, नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १३ , नेकपा (एकीकृत समाजवादी) को ७, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ जना सांसद छन् ।