गृहमन्त्री लेखकको निर्देशनः कुनैपनि बेला विपद्जन्य घटना हुनसक्छन्, उच्च शतर्कता अपनाउनूस्
१ श्रावण, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कुनैपनि बेला विपद्का घटना हुनसक्ने भन्दै उच्च शतर्कता अपनाउन मन्त्रालय र सम्बन्धित निकायका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।
मंगलवार मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले वर्षा हुने समय अझै बाँकी रहेकाले त्यसलाई मध्यनजर गरी शतर्कता अपनाउन आग्रह गर्नुभयो । गृहमन्त्री लेखकले यस वर्ष भारी वर्षा हुने आँकलन विज्ञहरुले गरेको भन्दै सुरक्षा निकाय, प्राधिकरण, प्रदेश सरकार र स्थानीय सरकार सजग रहनुपर्ने बताउनुभयो । उहाँले पूर्वसूचना प्रणालीका कारण विगतको तुलनामा कम क्षति भएपनि अझै क्षति न्युनिकरण गर्न शतर्क रहन आग्रह गर्नुभयो । गृहमन्त्री लेखकले मन्त्रालय र प्राधिकरणको समन्वयलाई थप सुदृढीकरण गर्दै अन्तर मन्त्रालयसँगको समन्वयलाई प्राथमिकता दिन पनि निर्देशन दिनुभयो ।
गृहमन्त्री लेखकले विपद् सुरक्षा सम्बन्धी आवश्यक जनशक्ति र श्रोत साधनका लागि चाहिने रकम विनियोजन गर्न अर्थ मन्त्रालयसँग कुरा गर्ने पनि बताउनु भयो । उहाँले न्युनतम कर्मचारी बढाउने गरी प्रक्रिया अघि बढाउन आग्रह गर्नुभयो । आर्थिक कारणले कुनैपनि काम नरोकिने समेत उहाँले प्रतिवद्धता जनाउनु भयो ।
गृहमन्त्री लेखकले अरु खर्च कटौति गरेर भएपनि नागरिकको ज्यान बचाउने कुरामा सरकार लाग्ने बताउनु भयो ।