राजनीतिक नेतृत्वबाट नागरिकमा परेको निराशा चिर्न काँग्रेस र एमालेबीच सहकार्यः मिनेन्द्र रिजाल

स्वर्णिम खबर
१ श्रावण २०८१, मंगलवार १२:२९

१ श्रावण, काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले राजनीतिक नेतृत्वबाट नागरिकमा परेको निराशा चिर्न नेपाली काँग्रेस र नेकपा एमालेले जोखिम उठाएको बताउनुभएको छ ।
उहाँले अहिलेको राजनीतिबाट देशमा चुलिएको निराशालाई चिर्नका लागि कुनै न कुनै बेला काँग्रेस—एमाले एक हुनुपर्ने अवस्थालाई मध्यनजर गरी एकपटक एक ठाउँमा उभिएको जिकिर गर्नुभएको हो । नेता रिजालले एमाले र काँग्रेसले आफ्ना बीचका अविश्वासहरुलाई बिर्सेर देश प्रतिको आफ्नो जिम्मेवारीलाई सम्झेर जोखिम उठाएको बताउनुभयो । उहाँले अहिलेको संविधान छुँदै नछोएको संविधान नभएको भन्दै अहिलेसम्म दुई पटक संशोधन भइसकेको बताउनु भयो । शासनलाई ठिक बाटोमा नलग्दासम्म समस्याहरु सिर्जित भइरहने भएकाले काँग्रेस र एमालेले शासनलाई ठिक बाटोमा लैजान आवश्यक रहेको नेता रिजालको भनाई छ । उहाँले एउटाले अर्कोलाई झुक्याउन खोज्न र सत्ताकै लागि मात्रै झगडा गर्ने कुराबाट जनता आजित भइसकेको भन्दै अब देश विकासका लागि काम गर्नुपर्ने बताउनु भयो ।
नेता रिजालले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै २०६४ सालमा उदाएका राजनीतिक दलहरुको परिवर्तनकारी एजेण्डा ओझेलमा परेको उल्लेख गर्नुभयो । उहाँले सत्तादेखि सत्तासम्मका लागि राजनीति हुँदा परिवर्तनको नाममा उदाएका कुनैपनि शक्तिले आफ्नो अन्तिम बिन्दुसम्म पुग्न नसकेको बताउनुभयो । उहाँले परिवर्तनलाई प्रतिनिधित्व गरेर बलियो प्रतिपक्ष बन्न आग्रह समेत गर्नुभयो । नेता रिजालले मधेसी राजनीतिक दलहरुले पनि सत्तामोहमा फसेर आफ्ना एजेण्डाहरु बिर्सिएको बताउनु भयो ।
नेता रिजालले गत निर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले काँग्रेस—एमाले एक्लाएक्लै चुनाव लड्न आग्रह गर्नुभएको स्मरण गर्दै आफू पनि सोही पक्षमा रहेको बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*