बागमतीका मुख्यमन्त्रीले साउन ६ गते विश्वासको मत लिने

स्वर्णिम खबर
३२ असार २०८१, सोमबार १५:४७

३१ असार, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिनुहुने भएको छ ।
सोमबार सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबीचको छलफलपछि मुख्यमन्त्री जम्कट्टेल साउन पहिलो हप्ताभित्र विश्वासको मत लिने टुंगोमा पुगेका एकीकृत समाजवादीका नेता कृष्णप्रसाद खनालले जानकारी दिनुभयो ।
त्यसै अनुसार मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिन लागेको जानकारी सहितको पत्र प्रदेशसभा सचिवालयमा बुझाउनु भएको छ ।
केन्द्रमा सत्ता समीकरणमा परिवर्तन भएसंगै नेकपा एमालेले असार २४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा पार्नुभएको हो ।
२०७९ पुस २५ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेल मुख्यमन्त्री बन्नुभएको थियो ।
मुख्यमन्त्रीको विपक्षमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेको प्रदेशसभामा बहुमत भएकाले उहाँ पदमुक्त हुने निश्चितजस्तै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*