हेटौंडाको ८ नं. वडा उपमहानगरकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
२९ असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको ८ नं. वडा उपमहानगरकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ ।
शनिबार चन्द्रोदय माध्यमिक विद्यालयको प्राङगणमा आयोजित एक कार्यक्रमकाबीच उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले ८ नं. वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुभएको हो । कार्यक्रममा मेयर लामाले निकट भविष्यमा उपमहानगरलाई बालमैत्री नगर घोषणा गरिने बताउनुभयो । उहाँले बालबालिकाहरुलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी सक्षम बनाउनुपर्ने जरुरी रहेको उल्लेख गर्नुभयो । बालबालिकाहरुको विकास र क्षमता बृद्धिमा सरकार जिम्मेवार बन्नुपर्ने उहाँको भनाई छ ।
यसैगरी कार्यक्रममा बालमैत्री स्थानीय शासन वडा समिति संयोजक एवं ८ नम्बर वडा अध्यक्ष रामकृष्ण थापाले यस वडाले बालमैत्री वडा घोषणाको लागि आवश्यक ५१ वटा सुचकहरु मध्ये ४६ वटा सुचक शतप्रतिशत र बाँकी ५ वटा सूचकहरु ९० प्रतिशत भन्दा माथि पूरा गरेको दाबी गर्नुभयो । बालमैत्री वडा घोषणालाई दिगोपन र निरन्तरता दिनु ठुलो चुनौती रहेको वडा अध्यक्ष थापाले बताउनुभयो । उहाँले बालबालिकाहरुको भविष्य सुनिश्चिताको लागि वडा प्रतिबद्ध रहेको समेत बताउनुभयो ।
कार्यक्रममा उपमेयर राजेश बानिंया, प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, वडा अध्यक्षहरु लगायत टोल विकास संस्थाका प्रतिनिधिहरु, स्थानीयहरुको उपस्थिति रहेको थियो । यस वडाले २०७९ मंसिर १८ गतेदेखि बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको लागि अभियान सुरु गरेको थियो ।