प्रधानमन्त्रीमा ओलीको दाबी पेश, नियुक्ति आइतबार हुने
२९ असार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भोलि (आइतबार) मात्रै नयाँ प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्नुहुने भएको छ ।
ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेर त्यही दिन साँझ नै सपथ गराउने तयारी रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । शुक्रबार राति कांग्रेसका सभापति शेरबहादुर देउवासहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेर ओलीले नयाँ सरकार गठनका लागि दाबी पेश गर्नुभएको थियो ।
ओलीले नेपाली कांग्रेसका ८८ र एमालेका ७७ गरी कुल १ सय ६५ सांसदको समर्थनमा दाबी पेश गर्नुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाएर स्वतः पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि भोलि साँझसम्मको समयसीमा दिएर आव्हान गरेका गर्नुभएको थियो ।
प्रधानमन्त्रीमा ओलीको नियुक्ति र सपथसँगै भोलि नै मन्त्रिपरिषद् विस्तार गरिने भएको छ ।