माझिगाउँ सामुदायिक वन बागमती प्रदेशकै उत्कृष्ट

स्वर्णिम खबर
२८ असार २०८१, बिहीबार १७:४९

२७ असार, हेटौँडा । यस वर्षको बागमती प्रदेश स्तरीय उत्कृष्ट सामुदायिक वन पुरस्कार नुवाकोट जिल्ला विदुर नगरपालिका ८ मा रहेको माझिगाउँ सामुदायिक वन उपभोक्ता समूहले प्राप्त गरेको छ ।
मकवानपुर जिल्लाको हेटौडा ९ मा रहेको बेतखोल्सी सामुदायिक वन उपभोक्ता समूहले दोश्रो र चितवनको कालिका नगरपालिका ५ मा रहेको भिमली सामुदायिक वन उपभोक्ता समूहले तेश्रो पुरस्कार प्राप्त गरेका छन । प्रथम हुने नगद ४५ हजार, दोश्रो हुने ३३ हजार र तेश्रो हुने २२ हजार प्राप्त गरेका छन् । वन निर्देशनालय हेटौडाका अधिकृत लोकनाथ लम्सालको संयोजकत्वमा ५ सदस्यीय पुरस्कार छनौट उपसमितिले ३ वटा सामुदायिक वन समूहलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।
बागमती प्रदेशको १३ वटा जिल्लामा रहेका ४ हजार ५ सय भन्दा बढी समूहबाट छनौट भएका सामुदायिक वन समुहमध्ये उत्कृष्ट ३ वटा समूह छनौट गरिएको पुरस्कार छनौट समितिका सदस्य विनोद कुमार पौडेलले बताउनुभयो । पुरस्कृत समूहले वनको ब्यवस्थापन, पर्यापर्यटकिय क्षेत्रको निर्माण, महिलाको लागि आयआर्जनका कार्यक्रम, संस्थागत विकास, आर्थिक पारदर्शीता, वन्यजन्तुको संरक्षण लगायतका कामहरु गर्दै आएका छन ।
२०८० सालदेखि प्रदेश स्तरीय उत्कृष्ट पुरस्कार दिन शुरु गरिएको हो । २०८० सालको प्रदेश स्तरीय उत्कृष्ट पुरस्कार मकवानपुर जिल्ला हेटौडा ६ मा रहेको रानी सामुदायिक वनले प्राप्त गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*