खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष सहित सदस्यहरुद्वारा पदभार ग्रहण
२७ असार, हेटौँडा । जिल्ला खेलकुद विकास समिति मकवानपुरका नवनियुक्त अध्यक्ष राजकुमार मुक्तान सहित सदस्यहरुले पदभार ग्रहण गरेका छन् ।
हेटौंडा ४ स्थित समितिको कार्यालयमा बिहीबार कार्यालय प्रमुख माधव कोइरालाले अध्यक्ष मुक्तान लगायत सदस्यहरु श्रीकृष्ण रुम्बा र मदन उप्रेतीलाई स्वागत गर्दै पदभार ग्रहण गराउनुभएको हो । खेलकुद विकास परिषद बागमती प्रदेशले हेटौडा उपमहानरपालिका –१२ भोर्लेका मुक्तानलाई असार २० गते अध्यक्षमा मनोनित गरेको थियो ।
मुक्तानको पदावधि ४ वर्षको रहनेछ । यस अघि जिल्ला अध्यक्षको पदावधि दुई वर्ष रहने प्रावधान रहेकोमा प्रदेश खेलकुद विकास नियमावली, २०७६ को दोस्रो संशोधन गरेर ४ वर्ष पु¥याइएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, नेकपा माओवादी केन्द्र मकवानपुर संयोजक भीम पाख्रिन, जिल्ला सचिव वीर बहादुर घलान ज्वाला, विभिन्न खेल क्षेत्रका प्रशिक्षक, खेलाडी लगायतले सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।