इजिप्टका प्रधानमन्त्रीद्वारा इजिप्टको भिजन २०३० मा आधारित नयाँ सरकारी कार्यक्रम अनावरण
२६ असार, एजेन्सी । इजिप्टका प्रधानमन्त्री मोस्तफा माडबौलीले आगामी तीन वर्षका लागि नयाँ सरकारको कार्यक्रम अनावरण गर्नुभएको छ ।
जसले इजिप्टलाई आफ्नो भिजन २०३० तर्फ लैजाने वृहत रणनीतिको रूपरेखा दिन्छ । संसदमा प्रश्तुत गर्ने क्रममा माडबौलीले नयाँ सरकारको कार्यक्रम राष्ट्रिय सुरक्षा, आर्थिक प्रगति र सामाजिक सेवाहरू, विशेष गरी शिक्षा र स्वास्थ्य सेवाहरूमा केन्द्रित हुने बताउनु भयो । उहाँले नयाँ सरकारले आर्थिक सुधारको मार्गलाई निरन्तरता दिने, विगतका वर्षहरूमा इजिप्टको विकास प्रक्रियाबाट शुरु भएका परियोजना र पहलहरू पूरा गर्ने र बढ्दो मूल्य र मुद्रास्फीतिलाई कम गर्न प्रयास गर्नेमा जोड दिनुभयो । सरकारले आफ्नो कार्यक्रमको पहिलो वर्ष ४ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राख्दै कार्यक्रम अवधिभर ५ प्रतिशतको औसत वृद्धिदरलाई नाघ्ने लक्ष्य राखेको उहाँले बताउनु भयो ।
सरकारले योजनाविहीन क्षेत्रमा करिव ५ लाख वैकल्पिक आवास एकाइ निर्माण गर्ने र पूर्वाधार र शहरी विकास आयोजनामा निजी क्षेत्रको संलग्नता बढाउने काम पनि गर्ने प्रधानमन्त्रीको भनाइ छ । माडबौलीले इजिप्टको कुटनीतिले आतंकवादसँग लड्न सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय फोरमहरूमा विशेष गरी संयुक्त राष्ट्र संघको ढाँचा भित्र आफ्नो प्रयास जारी राख्ने बताउनु भयो । उहाँले इजिप्टको जल सुरक्षा, ऊर्जा स्रोतको विविधीकरण, ऊर्जा दक्षता र पूर्वाधारमा सुधार गर्न र ऊर्जा प्रसारण र वितरण सञ्जालको विकास गर्ने प्रतिवद्धता गर्नुभयो ।