बागमती प्रदेशको ६ जिल्लामा खेलकुद विकास समितिको अध्यक्ष नियुक्त
२५ असार, हेटौँडा । मकवानपुर सहित बागमती प्रदेशका ६ वटा जिल्लामा खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरिएको छ ।
वागमती प्रदेश खेलकुद विकास परिषद्ले मकवानपुर सहित ६ जिल्लामा अध्यक्ष नियुक्त गरेको हो । १३ वटा जिल्ला विगत साढे ३ महिनादेखि खेलकुद विकास समिति अध्यक्ष विहिन थियो । ती मध्ये मकवानपुर, धादिङ, काभ्रे, सिन्धुली, काठमाडौं र सिन्धुपाल्चोक जिल्लामा अध्यक्ष नियुक्त गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार, मकवानपुरको अध्यक्षमा राज मोक्तान, धादिङको अध्यक्षमा प्रताप तामाङ, काभ्रेको अध्यक्षमा मानवीर वाइवा, सिन्धुलीको अध्यक्षमा वीरबहादुर थिङ, काठमाडौंको अध्यक्षमा सानुभाई बलामी र सिन्धुपाल्चोकको अध्यक्षमा रामकृष्ण दंगाललाई नियुक्त भएका छन् ।
प्रदेश खेलकुद विकास नियमावलीलाई संसोधन गरेर यस अघि जिल्ला अध्यक्षको कार्यकाल २ वर्षको हुने व्यवस्थालाई ४ वर्ष बनाइएको हो । बागमती प्रदेशका बाँकी जिल्लामा भने अध्यक्ष नियुक्त गरिएको छैन ।