बागमतीका मुख्यमन्त्रीलाई राजीनामा दिन एमालेको आग्रह
२५ असार, हेटौँडा । नेकपा एमाले संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा दिएर नयाँ सरकार गठनमा सहयोग गर्न आग्रह गरेको छ ।
मंगलबार दलका नेता एवम् प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले एक विज्ञप्ति जारी गर्दै कामचलाउ हैसियतमा पुगिसकेको माओवादी केन्द्र नेतृत्वको सरकार स्पष्ट अल्पमतमा परिसकेको भन्दै मुख्यमन्त्रीलाई यथाशीघ्र राजीनामा दिन आग्रह गर्नुभएको हो । दूरगामी महत्व राख्ने निर्णयहरू नगर्न पनि एमालेले प्रदेश सरकारलाई सचेत गराएको छ । विज्ञप्तिमा देशमा राजनीतिक स्थायित्व निर्माण गर्न केन्द्र र सम्पूर्ण प्रदेशहरूमा सहमतिको सरकार गठन गर्ने अभिप्रायले एमालेले लिइरहेको पहलकदमीलाई आत्मसात् गर्दै बागमती प्रदेशमा समेत स्थायित्व सुनिश्चित गर्न सहमतीय सरकार निर्माणको वातावरण बनाउन क्रियाशील रहेको उल्लेख गरिएको छ ।
राष्ट्रिय सहमतिको सरकार गठनका लागि वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको उल्लेख गर्दै मुख्यमन्त्रीले पनि यथाशीघ्र राजीनामा दिएर मार्गप्रशस्त गर्न उपयुक्त हुने धारणा एमालेको रहेको छ ।