संविधानको धारा ७६ (२) बमोजिम ओली प्रधानमन्त्री बन्नुहुन्छः कांग्रेस

स्वर्णिम खबर
२३ असार २०८१, शनिबार १८:५४

२२ असार, काठमाडौँ । नेपाली काँग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने बताएको छ ।
शनिवार संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक रमेश लेखकले ओली नेतृत्वको सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने बताउनुभयो । संविधानको धारा ७६ को २ मा सरकार गठन भइसकेपछि ७६ को २ बमोजिम नियुक्त हुनुहुने प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने र त्यो काम प्रधानमन्त्री पुष्पकमल दाहालले पूरा गरिसक्नुभएको उहाँको भनाई छ । प्रमुख सचेतक लेखकले राजनीतिक रुपमा काँग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमति गरेपछि स्वभाविक रुपमा अहिलेको सरकारका विपक्षमा दुई तिहाई भन्दा बढी मत भएपछि नयाँ सरकार गठन हुने बताउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिने विश्वासको मतको विपक्षमा पार्टीले मतदान गर्ने निर्णय गरेको पनि बताउनुभयो ।
प्रमुख सचतेक लेखकले राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण, विकास निर्माणलाई तिब्रता, राजनीतिक स्थिरता, संविधान संशोधन र अर्थतन्त्र बलियो पार्ने उद्देश्यका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको उल्लेख गर्नुभयो । उहाँले नयाँ बन्ने सरकार राष्ट्रिय सहमतिको सरकार हुने र पहिलो चरणमा एमालेका अध्यक्ष ओली र दोस्रो चरणमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमतिलाई कार्यान्वयन गर्नका लागि दृढता व्यक्त गर्ने निर्णय पनि बैठकले गरेको बताउनु भयो ।
बैठकले अविरल वर्षाका कारण देशभर बाढी, पहिरो, डुबानको समस्या उत्पन्न भएको भइ नागरिको जीवन असहज भएको भन्दै नागरिकको जीवन सहज बनाउन सरकारसँग आग्रह गरेको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*