सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने क्यानको निर्णय
२१ असार, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको छ ।
क्यानको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीपलाई यही जुलाई १ देखि आउँदो डिसेम्बर ३१ सम्म ग्रेड ‘ए’ मा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको क्यानले जनाएको छ । सन्दीपले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सय विकेट लिन सफल भएकोमा क्यानले यस्तो निर्णय गरेको हो ।
यस्तै बैठकले क्यान उपाध्यक्षसहित ४ जना पदाधिकारीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । टी–२० विश्वकपमा सहभागिताका क्रममा क्रिकेट सङ्घ र पदाधिकारी लक्षित नकारात्मक टिप्पणी गरेको भन्दै क्यानले उपाध्यक्ष रोशनकुमार सिंह, केन्द्रीय सदस्यद्वय माधवकुमार आचार्य र दुर्गाराज पाठक तथा सुनसरी क्रिकेट सङ्घ अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
यस्तै बैठकले नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी सदस्य अप्सरी बेगमले टिम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको भन्दै तत्कालका लागि निलम्बन गर्ने र थप छानबिन गरी निर्णय गर्न अनुशासन समितिलाई जिम्मेवारी दिएको छ ।