प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने
२१ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असार २८ गते विश्वासको मत लिनुहुने भएको छ ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रयोजनका निम्ति संसद सचिवालयलाई पत्र समेत पठाइसक्नुभएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले सत्तामा सहकार्य गर्ने सहमतिपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । कुनै पनि दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ । कांग्रेस र एमालेले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गर्दै आएका छन् । तर, प्रधानमन्त्रीले संसद्को सामना गर्ने भन्दै राजीनामा दिन अस्वीकार गर्नुभएको छ ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ मत चाहिन्छ । प्रधानमन्त्रीसँग अहिलेसम्म माओवादी केन्द्रका ३२, रास्वपाका २१, एकीकृत समाजवादीका १० र अशोक राई नेतृत्वको जसपाका ७ गरी ७० सांसद छन् । प्रतिनिधिसभामा बहुमत जुटाउन १३८ सांसदको समर्थन चाहिन्छ ।