रुसविरुद्धको लडाइँका लागि हतियार सहयोग गर्न युक्रेनी राष्ट्रपतिको अपिल
१६ असार, काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले हमला बढाएको भन्दै लामो दूरीमा मार हान्न सक्ने हतियार र हवाई प्रतिरक्षा प्रणालीका लागि सहयोगको अपिल गर्नुभएको छ ।
रुसी क्षेप्यास्त्र आक्रमणबाट हिजो दुई जना बालबालिकासहित सात जनाको ज्यान गएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिका र युरोपेली सहयोगी देशहरूसँग लामो दूरीमा मार हान्न सक्ने हतियार र हवाई प्रतिरक्षा प्रणालीको माग गर्नुभएको हो । दक्षिण–पूर्वी शहर जापोरिझिया नजिकैको विल्नियान्स्क शहरमा रुसी आक्रमणमा सात जनाको ज्यान गएको छ भने ३१ जना घाइते भएका छन् । शुक्रवारदेखि आजसम्म रुसले गरेको आक्रमणमा ११ जनाको ज्यान गएको रोयटर्सले जनाएको छ ।
जेलेन्स्कीले आफ्ना शहर र समुदायहरू रुसी आक्रमणबाट दैनिक रूपमा पीडित भएको बताउनुभएको छ ।