संसद राष्ट्र निर्माण गर्ने महत्वपूर्ण थलो होः सभामुख घिमिरे
१६ असार, काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद कानून बनाउने थलो मात्रै नभइ राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र भएको बताउनुभएको छ ।
आईतवार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसदलाई विधायन निर्माण गर्ने ठाउँ मात्रैका रुपमा बुझ्न नहुने बताउनुभयो । संसदको कुटनीतिले मात्रै जनताका भावनाहरु एक ठाउँमा ल्याउन सकिने उहाँको भनाई छ । सभामुख घिमिरेले संसदीय कुटनीतिले देशलाई ठिक दिशामा लैजान महत्वपूर्ण भुमिका खेल्ने उल्लेख गर्नुभयो । उहाँले अहिले संसदले २०१५ सालको निर्वाचनको परिणामदेखि संसदले खेलेका भुमिकालाई अर्काइभ गर्ने, डिजिटलाइज गर्ने कामहरु गरिसकोको बताउनु भयो । सभामुख घिमिरेले २००७ सालदेखि बनेका कानूनहरु अहिलेको प्रविधिअन्तर्गत डिजिटलाइज गर्ने, अर्काइभ गर्ने र सुरक्षित गर्ने काममा संसद लागिपरेको उल्लेख गर्नुभयो ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद ऐन, कानून बनाउनुपर्ने भुमिकामा चुक्दै गएको बताउनुभयो । उहाँले नेपाली नागरिकको उत्कृष्ट प्रतिनिधिको थलो संसद भएपनि संसद नागरिकका ऐन, कानून बनाउनतर्फ अहिले कतै न कतै चुकेको जिकिर गर्नुभयो । उहाँले सांसदहरुले निर्माण गर्ने ऐन, कानूनले नै देश कता जान्छ भन्नेकुराको निर्धारण हुने भन्दै सांसदहरु ऐन निर्माणमा बढी केन्द्रित हुनुपर्ने बताउनु भयो ।
अध्यक्ष दाहालले सांसदहरुले देश र जनतालाई फाइदा हुने ढंगले सोच्न जरुरी रहेको बताउनुभयो ।