सदस्यता विवाद टुंग्याएर मात्र निर्वाचन गर्न युनियन मकवानपुरको माग
१५ असार, हेटौँडा । नेपाल प्रेस युनियन मकवानपुरले सदस्यता विवाद टुंगाएर मात्र नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेको छ ।
शनिबार एक विज्ञप्ती जारी गर्दै प्रेस युनियन मकवानपुरका अध्यक्ष सुबास विडारीले महासंघको निर्वाचन तालिका स्थगित गरी सदस्यता विवाद टुंग्याउन आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघको सदस्यता विवादलाई विधान अनुसार टुंग्याउन पत्रकार महासंघको नेतृत्वले उदासीनता देखाएकोप्रति युनियन मकवानपुरको ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । अध्यक्ष बिँडारीले मतदाताको अन्तिम नामावली भन्दै क्रियाशील पत्रकारहरुलाई हटाएर पत्रकारिता पेशामा आवद्ध नभएका व्यक्तिहरुलाई समावेश गरी सार्वजनिक गरेको नामावली प्रेस युनियन मकवानपुरलाई स्वीकार्य नभएको बताउनुभयो । यसैबीच युनियन मकवानपुरले महासंघको हेटौंडा–४ स्थित कार्यालयमा आफ्नो मागसहितको कालोव्यानर विरोध स्वरुप झुण्डाएको छ ।
महासंघको सदस्यताको विवादको विषयलाई टुंग्याएर मात्र निर्वाचन गर्नुपर्ने युनियन मकवानपुरको माग रहेको छ । युनियन जिल्ला अध्यक्ष सुबास विडारीको नेतृत्वमा महासंघमा पुगेको टोलीले महासंघको सदस्यता विवादलाई विधान अनुसार टुंग्याउन माग गरेको छ । युनियन मकवानपुरले महासंघ मकवानपुरको कार्यालयमा शुक्रबार राति विभिन्न माग गर्दै तालाबन्दी समेत गरेको थियो ।