प्रदेश सरकारलाई आफैंले बनाएका कानुनहरु कार्यान्वयन गर्न कठिनाई छः मुख्यमन्त्री जम्कट्टेल

मनिल महतो
१४ असार २०८१, बिहीबार ११:२६

१३ असार, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारलाई आफैंले बनाएका कानुनहरु कार्यान्वयन गर्न कठिनाई भएको बताउनुभएको छ ।
संघीय सरकारले कतिपय कानुनहरु नबनाउँदा प्रदेश सरकारलाई कानुन कार्यान्वयन गर्न समस्या परेको उहाँको भनाई छ । हेटौंडामा भएको मुख्य न्यायाधिवक्ताहरुको प्रथम सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारलाई आवश्यक संरचनाहरु अझै पनि केन्द्र सरकारकै मातहातमै रहेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक रुपमा नेपालमा संघीयताले सही दिशा समातेको दाबी गर्नुभयो । यद्यपि कार्यान्वयनको पाटोमा देखिएका समस्याहरु विस्तार हल हुँदै जानेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री जम्कट्टेलले अहिले आफ्नो भुमिका भन्दा तलमाथि गर्ने छुट कसैलाई पनि नभएको बताउनुभयो । प्रदेश सरकारको हरेक काम कारवाही पारदर्शी हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।


यसैगरी सम्मेलनलाई सम्बोधन गर्नुहुँदै महान्यायाधिवक्ता दिनमणि पोखरेलले संघीयताको बारे आएका नकारात्मक टिप्पणी हुने चिर्ने गरी मुख्यन्यायाधिवक्ताहरुले काम गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेशका मुख्य न्यायाधिवक्ताहरुले भुमिका मात्र खोज्न नभई संविधान र कानुनले निर्दिष्ट गरेका जिम्मवारीहरु पुरा गर्ने तर्फ अग्रसर हुन आग्रह गर्नुभयो ।
यसैगरी बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले कानुन निर्माणमा पर्याप्त छलफल र अनुसन्धान हुन नसकेको बताउनुभयो । सरोकारवाला, विज्ञ र जनप्रतिनिधिबीचको प्रतिनिधित्व र व्यापक छलफल भएर कानुन बन्यो भने मात्र कार्यान्वयनको पाटो बलियो हुने उहाँको भनाई छ । सभामुख पाठकले प्रदेशसभाबाट ७८ वटा ऐनहरु निर्माण गरे पछि ति ऐनहरु पर्याप्त हुन नसकेको बताउनुभयो ।
बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशका मुख्य न्यायाधिवक्ता लगायतको आतिथ्यता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*