जनतालाई शुद्ध खानेपानी खुवाउनु सरकारको प्रमुख दायित्वः मुख्यमन्त्री जम्कट्टेल

स्वर्णिम खबर
१२ असार २०८१, मंगलवार १९:०७

११ असार, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जनतालाई शुद्ध खानेपानी खुवाउनु सरकारको प्रमुख दायित्व भएको बताउनुभएको छ ।
अन्य क्षेत्रको बजेटलाई रकामान्तर गरेर भएपनि खानेपानीको क्षेत्रमा बजेट छुट्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरुको बागमती प्रदेश स्तरीय क्षमता अभिवृद्धि तालिम गोष्ठी कार्यक्रममा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले खानेपानी र सिचाईको क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर नै प्रदेश सरकारले बजेट ल्याएको बताउनुभयो । उहाँले खानेपानी उपभोक्ता समितिहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्ने बताउनुभयो । मेख्यमन्त्री जम्कट्टेलले नीति बनाउने सवालमा प्रदेश सरकार उपभोक्ता समितिहरुसंग सहकार्य गर्न तयार रहेको समेत उल्लेख गर्नुभयो । प्रदेश सरकारको ध्यान नपुगेका क्षेत्रमा समितिहरुले खबरदारी गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
यस्तै खानेपानी, उर्जा तथा सिचाई मन्त्री एकालाल श्रेष्ठले आवश्यकताको आधारमा समानुपातिक ढंगले खानेपानीको क्षेत्रमा बजेट विनियोजन गरेको बताउनुभयो । विगतको सरकारको खानेपानी योजनाहरुलाई यसपालिको बजेटमा पनि निरन्तरता दिइएको मन्त्री श्रेष्ठले दाबी गर्नुभयो ।
कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्यालले खानेपानी सरसफाई क्षेत्रको वर्तमान अवस्था र सवालहरुको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*