बागमती प्रदेशः बजेटको विषयमा दलहरुबीच सहमति जुटेन, शुक्रबारसम्मको लागि स्थगित
६ असार, हेटौँडा । बागमती प्रदेश सभाको बिहीबारको बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।
बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो । बिहीबार दिउँसो ३ बजे बस्ने तय गरिएको बैठक दलहरुबिच सहमती हुन नसकेपछि सूचना टाँस गरी स्थगित गरिएको हो । बजेट सन्तुलित नभएको तथा दलीय रुपमा भएका सहमती कार्यान्वयन नभएको भन्दै प्रतिपक्ष दलले संसद अवरुद्ध गरेका थिए । बैठकमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिं लामाले बजेट पुस्तिका पुनः लेखन नभएसम्म संसद् सञ्चालन गर्न नदिने चेतावनी दिनुभएको छ ।
नेता लामाले बजेट अस्पष्ट र सन्तुलित नभएकाले पुनः लेखनको माग गर्नुभयो । वक्तव्य र कार्यक्रम पुस्तिकामा बजेटको आकार नै फरक रहेकाले बजेट स्वीकार गर्न नसकिने उहाँको भनाई छ । नेता लामाले संसद्लाई सरकारले नै असक्षम र असफल बनाउने काम गरिरहेको आरोप लगाउनुभयो । बैठक प्रतिपक्षी दलहरुले अवरोध गरेसंगै स्थगित गरी दलहरु छलफलमा जुटेका थिए ।