हेटौंडामा युवा नमूना संसद अभ्यास कार्यक्रम सुरु

आरती ढकाल
६ असार २०८१, बुधबार १५:०७

५ असार, हेटौँडा । युवाहरुमा नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बागमती प्रदेश युवा परिषद्को आयोजनामा हेटौंडामा युवा नमूना संसद अभ्यास कार्यक्रम सुरु गरिएको छ ।
असार ८ गतेसम्म चल्ने अभ्यास कार्यक्रमको बुधबार बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थपलियाले समाजको अगुवा गर्ने जिम्मेवारी युवाहरुको भएको बताउनुभयो । आफ्नो लक्ष्य र उद्देश्यलाई स्पष्ट रुपमा बुझेर नै अघि बढ्न उहाँले युवाहरुलाई आग्रह गर्नुभयो । अभ्यासको क्रममा सिकेका सीपहरुलाई व्यवहारमा उतार्नुपर्नेमा समेत मन्त्री थपलियाले जोड दिनुभयो ।


यसैगरी परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले युवाहरुले देशको नेतृत्व गर्न सक्दैन, मुलुक बनाउन सकिंदैन भन्ने गलत भाष्यलाई चिर्नुपर्ने बताउनुभयो । तीन वटै तहको सरकारले युवाहरुको लागि बिनियोजन गरेको बजेट कार्यान्वयन भयो कि फ्रिज भयो भन्ने विषयमा स्वयम् युवाहरुले बहस गर्नुपर्ने उहाँको भनाई छ ।


कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका स्थानीय तहको नगर वा गाउँ सभामा सहभागी भएर आएका दुई दुई जना प्रतिनिधि नमूना सांसदको सहभागीता रहेको छ । उनीहरुले संसदीय अध्यास, संसदीय प्रणाली, संसदीय प्रक्रिया लगायतका विषयमा विभिन्न सत्रमा रहेर अभ्यास गर्नेछन् । उद्घाटन कार्यक्रममा प्रदेश तीति तथा योजना आयोगका सदस्य दिपेन्द्र श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तान लगायतले मन्तव्य राखेका थिए । प्रदेष युवा परिषदले वार्षिक रुपमा नमूना संसद अभ्यास कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*