९९ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा पुगिसकेको छः प्रधानमन्त्री दाहाल

मनिल महतो
१ असार २०८१, शुक्रबार १४:३१

३२ जेठ, हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहालले वैकल्पिक ऊर्जासहित करिब ९९ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा पुगिसकेको बताउनुभएको छ ।
विगतमा आफ्नै नेतृत्वको सरकारले देशलाई लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको प्रधानमन्त्री दाहालले स्मरण गर्नुभयो । हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अहिले करिब ९५ प्रतिशत भूभागमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको दाबी गर्नुभयो । आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरूपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न कार्यहरू भइरहेको उहाँको भनाई छ । प्रधानमन्त्री दाहालले आन्तरिक रूपमा विद्युत खपत बढाउन उच्च प्राथमिकताका साथ काम गर्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई निर्देशन समेत दिनुभयो ।


प्रधानमन्त्री दाहाले देशमा अहिले आशाको सञ्चार प्रवाह भइरहेको बताउनुभयो । ठूला–ठूला पूर्वाधार निर्माण सम्पन्न हुनुले देशमा मौलाएको गलत भाष्य र चर्चालाई तथ्य र तथ्याङ्कसहित निस्तेज तुल्याएको उहाँको भनाई छ । प्रधानमन्त्री दाहालले विद्युत उत्पादन र खपत गर्ने उपभोक्ताबीच जोड्न पूर्व–पश्चिम, उत्तर–दक्षिण प्रसारण र वितरण लाइनका पूर्वाधार संरचना विस्तार तथा सुदृढीकरणको काम तीब्र गतिमा भइरहेको बताउनुभयो ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै उर्जा, जलश्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत व्यापारलाई नकारात्मक रुपमा नबुझ्न आग्रह गर्नुभयो । उपभोग गरेर खपत भएको विद्युत मात्र निर्यात गर्ने उहाँको भनाई छ । मन्त्री बस्नेतले अबको दुई तीन महिनाभित्र नेपाल विद्युतमा आत्मनिर्भर बन्ने दाबी समेत गर्नुभयो ।


राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत सरकार र प्राधिकरणको संयुक्त लगानीमा हेटौँडा, ढल्केबर इनरुवा चार सय केभी सबस्टेसन विस्तार आयोजना सुरु गरिएको थियो । आयोजनाअन्तर्गतका तीनवटै सबस्टेसन निर्माण सम्पन्न भएका छन् । हेटौँडा सबस्टेसन निर्माणका लागि डिसेम्बर २०१८ मा ठेक्का सम्झौता गरिएको थियो ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*