देश विकास हुनबाट रोक्न काँग्रेसले ‘स्यालहुँइया’ मच्चायोः अध्यक्ष ओली
३१ जेठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकास हुन नदिन नेपाली काँग्रेसले ‘स्यालहुँइया’ मच्चाएको आरोप लगाउनुभएको छ ।
बिहीवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले देशका लागि काम गर्न नदिनका लागि काँग्रेसले एमालेमाथि आक्रमण गरिरहेको बताउनुभयो । उहाँले पशुपतिमा एक सय ८ केजी सुन भनेर पित्तल चढाए, कम्बोडियामा ३ हजार करोड टेलिकममा लगानी छ भन्नेहरु कता गए भन्दै प्रश्न समेत गर्नुभयो । अध्यक्ष ओलीले अहिले गिरिबन्धु टि स्टेटका बारेमा गलत प्रचार गरेर स्यालहुँइया मच्चाइरहेको बताउनुभयो । कानून, नियम बिना बलजफ्ती बिक्री गरेर गिरिबन्धु टि स्टेटको जग्गा बेचेकाहरु अहिले खान नपाएको रिसले कराइरहेको उहाँको अरोप छ ।
अध्यक्ष ओलीले एमालेभित्र एकताका लागि ठाउँ रहेको भन्दै फाटो, विभाजन र गुटबन्दीका लागि ठाउँ नरहेको बताउनुभयो ।