पार्टीको ८ औं स्थापना दिवसको अवसरमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम
३० जेठ, हेटौँडा । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मकवानपुरले आफ्नो पार्टीको आठौं स्थापना दिवसको अवसरमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
बुधबार भएको भेटघाट कार्यक्रममा पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य राजेन्द्र सिंखडाले नयाँ शक्ति पार्टीको रुपमा आठ वर्षअघि स्थापना भएर आजसम्म आइपुग्दाको अवस्थाको समीक्षा प्रस्तुत गर्नुभएको हो । उहाँले विभिन्न पार्टीबीच एकता र फुटसँगै पार्टी आजको अवस्थासम्म आएको स्मरण समेत गर्नुभयो । पार्टीको भावी रणनीति र आगामी योजनाबारे पनि उहाँले पत्रकारहरुलाई जानकारी गराउनुभयो । मुलुकमा प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था गर्नु आफूहरुको मुख्य मुद्दा भएको उहाँको भनाइ थियो । सदस्य सिंखडाले पार्टीले संगठन विस्तारलगायत जिल्ला अधिवेशन हुँदै आगामी माघसम्ममा केन्द्रीय महाधिवेशन गर्ने लक्ष्यका साथ अघि बढेको बताउनुभयो ।
पार्टी मकवानपुरका संयोजक रमेश उप्रेती (तेज)को अध्यक्षतामा भएको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पार्टी मकवानपुर ईन्चार्ज इजाहर आलम, पार्टीका नेताहरु हरिहर खतिवडा, सुदिप कार्कीलगायतको उपस्थिति रहेको थियो । यसैगरी स्थापना दिवसकै अवसरमा बुधबार भएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए ।