एमाले भारत विरोधी पाटी होइनः वरिष्ठ उपाध्यक्ष पोखरेल
२८ जेठ, हेटौँडा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पाटी भारत विरोधी नभएको बताउनुभएको छ ।
उहाँले भारतसंगको सम्बन्धलाई व्यवस्थित बनाउने पक्षमा एमाले रहेको बताउनुभयो । एमाले मकवानपुरको १२ औं अधिवेशनबाट निर्वाचित कमिटीको शपथग्रहण समारोहमा सम्बोधन गर्नुहुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको पक्षमा आफ्नो पार्टी अडिग रहने स्पष्ट पार्नुभयो । विगतमा भारतसंग भएको अपमानजनक र असमान सन्धिहरु परिवर्तन गर्नुपर्ने उहाँको भनाई छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले बाहेक अरु कुनै पनि राजनीतिक दलले राष्ट्रको भौगोलिक अखण्डताको रक्षा गर्न नसक्ने समेत दाबी गर्नुभयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिक अस्थिरताको कारणले देश बर्बाद भएको बताउनुभयो । राष्ट्रिय स्वतन्त्रता र सामाजिक सद्भावलाई जोगाई राख्न राजनीतिक स्थिरता आवश्यक रहेको उहाँको भनाई छ । उहाँले नेपालको सन्दर्भमा एमाले बाहेक अरु राजनीतिक दलले बहुमत ल्याउनै नसक्ने ठोकुवा समेत गर्नुभयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले विचारमा स्पष्टता भए मात्र पार्टी बन्ने बताउनुभयो ।