बागमती विश्वविद्यालय संरक्षक समितिका सदस्यहरुलाई मनोनयन पत्र प्रदान

स्वर्णिम खबर
२५ जेष्ठ २०८१, शुक्रबार १८:५२

२५ जेठ, हेटौँडा । बागमती विश्वविद्यालय संरक्षक समितिका सदस्यहरुलाई मनोनयन पत्र प्रदान गरिएको छ ।
शुक्रबार सामाजिक विकास मन्त्रालयमा आयोजित एक कार्यक्रमको बीच प्रदेश सरकारले नियुक्त गरेका सदस्यहरुलाई मनोनयन पत्र प्रदान गरिएको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संरक्षक समितिका सदस्यहरु प्रा.डा.चन्द्रमणि पौडेल, कृष्ण कटुवाल, बच्चुराम अधिकारी, नुररानी ढुंगेल र किरण चन्द्र दाहाललाई मनोनयन पत्र प्रदान गर्नुभएको हो । कार्यक्रममा बोल्नुुहुदै विश्वविद्यालयका संरक्षक समेत रहनुभएका मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले बनाएको ऐन नियम अनुसार काम गर्न संरक्षक समितिका सदस्यहरुलाई निर्देशन दिनुभयो । विश्वविद्यालय एक स्वायत्त संस्था भएकोले सरकारबाट कुनै पनि किसिमको हस्तक्षेप नहुने उहाँले आश्वासन समेत दिनुभयो । उच्च शिक्षामा परिवर्तन ल्याउने गरी विश्वविद्यालयले काम गर्नुपर्नेमा मुख्यमन्त्री जम्कट्टेलले जोड दिनुभयो ।
यसैगरी आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले शिक्षा क्षेत्रमा रहेको चुनौतीलाई चिर्ने दायित्व विश्वविद्यालयको सामु रहेको बताउनुभयो । उच्च शिक्षाको लागि विदेश जाने अवस्थाको अन्त्य गर्ने गरी विश्वविद्यालयले काम गर्नुपर्ने उहाँको भनाई छ । कमाउँदै पढ्दै गर्ने वातावरण सिर्जना गर्न नसके विश्वविद्यालय खुल्दै जाने तर विद्यार्थी नहुने अवस्था उत्पन्न हुने हुँदा त्यसतर्फ पनि सचेत रहन मन्त्री थपलियाले समितिका सदस्यहरुलाई आग्रह गर्नुभयो ।
प्रदेश सरकारले हेटौंडा ८ कमाने स्थित प्रदेश शिक्षा विकास निर्देशनालयको भवनमा विश्वविद्यालयको कार्यालय समेत स्थापना गरिसकेको छ । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, मन्त्रालयका सचिव लगायत शिक्षासंग सम्बन्धित सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*