बजेट वितरणमुखी नभई उत्पादनमुखी भएर ल्याइएको अर्थमन्त्री पुनको दाबी

स्वर्णिम खबर
२२ जेष्ठ २०८१, मंगलवार १८:०२

२२ जेठ, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट वितरणमुखी नभई उत्पादनमुखी भएर ल्याएको दाबी गर्नुभएको छ ।
मंगलवार राष्ट्रिय सभामा विनियोजन विधेयक माथि उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले सरकारले बजेट पछिल्ला आर्थिक संकुचनले स्रोतमा पारेको संकुचनलाई ध्यान दिएर बिना महत्वकांक्षी र युवा जनशक्तिलाई देशभित्रै रहेर भविष्य खाज्न प्रेरित गर्ने ढङ्गले वस्तुवादी बजेट ल्याएको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेटको कार्यदिशा अर्थतन्त्रलाई थप चलायमान बनाउन निजी क्षेत्र समेतको मनोबल बढाउने रहेकाले बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको स्पष्ट पार्नुभयो । उहाँले बजेट ठूला र प्रभावशाली नेता, मन्त्री र प्रधानमन्त्रीको क्षेत्रमा मात्रै गयो भन्ने आरोपलाई चिर्दै अहिलेको बजेटले १ सय ६५ निर्वाचन क्षेत्रमा बजेट पुग्नेगरी व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।
अर्थमन्त्री पुनले सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रमबाट ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नुको साथै १६ औं योजनाले परिलक्षित गरेका उद्देश्यहरु समेत क्रमशः पूरा हुने विश्वास रहेको बताउनुभयो । उहाँले बजेट र करका नीतिहरुले निजी क्षेत्रलाई प्रोत्साहन र लगानी प्रवद्र्धन गर्ने कोशिस गरेको जानकारी दिनुभयो । सरकारले ल्याएको बजेट अनुसारको मौद्रिक नीति आउने भएकाले विगतका बजेटका आकारको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार महत्वकांक्षी नभई सन्तुलित रहेको अर्थमन्त्री पुनको भनाई छ ।
अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन बजेट कार्यान्वयन गर्न आवश्यक पर्ने वित्तीय स्रोत परिचालन हुनेगरी कार्ययोजनासहित स्रोत व्यवस्थापन गरिने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*