गणतन्त्रलाई कमजोर बनाउने तत्वहरु क्रियाशील छन्ः प्रदेश प्रमुख शर्मा
१५ जेठ, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले गणतन्त्रलाई कमजोर बनाउने तत्वहरु क्रियाशील रहेको बताउनुभएको छ ।
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने व्यवस्थामाथि खलल पु¥याउन लाग्ने तत्वहरुलाई परास्त गर्नुपर्ने उहाँको भनाई छ । गणतन्त्र दिवस २०८१ को अवसरमा हेटौंडामा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख शर्माले वर्तमान व्यवस्थालाई भत्काएर जनतामा गलत भ्रम फैलाउन खोज्ने विरुद्ध सचेत रहँदै संविधानको मर्म र भावनाहरु अनुसार चल्नुपर्ने बताउनुभयो । नागरिकको असीमित आवश्यकता र सीमित श्रोत साधनको कारण अझै पनि नागरिकको जीवनशैलीमा सोचे अनुरुप परिवर्तन आउन नसकेको उहाँको भनाई छ । जनतालाई छरिएको भ्रम र वितुष्णालाई चिर्दै स्वदेशमै रोजगारीको अवसरमा सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
यसैगरी कार्यक्रममा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संविधानले मार्गनिर्देश गरे अनुसार काम गर्न गणतन्त्र पक्षधरहरुले प्रण गर्नुपर्ने बताउनुभयो । समाजवाद निर्माण र सामाजिक न्यायको निम्ति सबै एकजुट हुनुपर्ने उहाँको भनाई छ । गणतन्त्रबाट जनताहरुले आत्मसम्मान प्राप्त गरेको महशुस गरेको मुख्यमन्त्री जम्कट्टेलले दाबी गर्नुभयो । अहिले समाजमा व्यवस्थाको विरोध गर्नेहरु भएपनि त्यस्ता विरोधको कुनै अर्थ नरहने उहाँको भनाई छ ।
यसैगरी प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले संघीय सरकारमा केन्द्रिकृत मानसिकता हाबी हुँदा संघीयता विरुद्ध आवाज उठेको बताउनुभयो । गणतन्त्रलाई संस्थागत गर्न प्रदेश सरकार अधिकार सम्पन्न हुनुपर्ने उहाँको भनाई छ ।
गणतन्त्र दिवसको अवसरमा प्रदेश सरकारले प्रभातफेरी समेत गरेको थियो । हेटौंडाको भुटनदेवी स्कुलबाट निकालिएको प्रभातफेरी हेटौंडा बजार क्षेत्रको परिक्रमा गर्दै मुख्यमन्त्री कार्यालयमा आएर सभामा परिणत भएको थियो । कार्यक्रममा पत्रकार, सहिद परिवारलगायतलाई सम्मान गरिएको थियो ।