मिडियाकर्मीहरुमा आलोचनात्मक चेत हुनुपर्छः मुख्यमन्त्री जम्कट्टेल
१३ जेठ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मिडियाकर्मीहरुमा आलोचनात्मक चेत हुनुपर्ने बताउनुभएको छ ।
सञ्चारकर्मीहरुले आफुले लेखेको समाचारको आफैले अध्ययन र विश्लेषण गर्नुपर्ने उहाँको भनाई छ । कृष्ण सेन ईच्छुकको २२ औं स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल मकवानपुरले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले आफ्नो कमजोरीहरु स्वीकादै आलोचना सहने क्षमता सञ्चारकर्मीहरुमा हुनुपर्ने बताउनुभयो । उहाँले सबै नीतिहरुको नेतृत्व राजनीतिले नै गर्ने बताउनुभयो । समाजमा निराशाहरु पस्कने र सकारात्मक कुराहरुलाई छोप्ने तत्वविरुद्ध सबै एकजुट हुनुपर्ने उहाँको भनाई छ ।
यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले कृष्ण सेन, रुद्र पाख्रिनका सपना अझै अपुरो रहेको बताउनुभयो । उहाँले शान्तिपूर्ण ढंगबाट नै देशमा समाजवाद निर्माण गर्न आफुहरु लागिरहेको उल्लेख गर्नुभयो । भुमिका परिवर्तन भएपनि उद्देश्य भने परिवर्तन गर्न नहुने उहाँको भनाई छ । मन्त्री श्रेष्ठले प्रेस स्वतन्त्रतालाई कुण्ठित नगर्ने गरी सञ्चारकर्मीहरुलाई सम्बोधन गर्ने खालको बजेट तर्जुमा गर्ने बताउनुभयो ।
प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अन्जली थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, सञ्चार रजिष्टार रेवती सापकोटा, प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष एवं केन्द्रीय ईन्चार्ज महेश्वर दाहाल, पत्रकार आबद्ध संगठनका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रेस सेन्टर मकवानपुरले पत्रकारहरुलाई सम्मान समेत गरेको थियो ।