शिक्षा र स्वास्थ्यको लगानी उत्पादनसंग जोडिनुपर्छः मुख्यमन्त्री जम्कट्टेल
१२ जेठ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शिक्षा र स्वास्थ्यमा हुने लगानीलाई उत्पादनसंग जोड्नुपर्ने बताउनुभएको छ ।
शनिबार सामूदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको हेटौँडामा भएको शैक्षिक अन्तरक्रिया तथा उत्प्रेरणा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले शिक्षा र स्वास्थ्यको लगानी आर्थिक वृद्धिद्धरसंग नजोडिँदा उचित प्रतिफल प्राप्त गर्न नसकेको बताउनुभयो । उहाँले बदलिंदो सामाजिक परिवेश अनुरुप नै नेतृत्वकर्ताहरुले आफुलाई पनि बदलनु पर्ने जिकिर गर्नुभयो । पुरानो नीति तथा कार्यक्रम बोक्नेहरुले राष्ट्रको नेतृत्व गर्न नसक्ने उहाँको भनाई छ । मुख्यमन्त्री जम्कट्टेलले जिम्मेवार ठाउँमा बस्नेहरुले नै केही हुँदैन, केही गर्न सकिंदैन भन्ने गलत भाष्य स्थापित गर्न खोजेको बताउनुभयो ।
मुख्यमन्त्री जम्कट्टेलले समस्याहरु देखाएर मात्र शिक्षा क्षेत्रमा सुधार नआउने बताउनुभयो । समस्यासंगै समाधानका उपायहरु पनि खोज्ने उहाँले शिक्षासंग सम्बन्धित सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । मुख्यमन्त्री जम्कट्टेलले अहिलेको शिक्षा प्रणालीको सैद्धान्तिक पाटो बलियो भएपनि व्यवहारिक पक्ष भने कमजोर भएको बताउनुभयो । पाठ्यक्रम परिवर्तन गरी नर्सिङ र इन्जिनियरिङ कोषलाई माध्यमिक तहमा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मोक्तान, खानेपानी, उर्जा एवम् सिचाई मन्त्री एकालाल श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, प्राध्यापक डा. विद्यानाथ कोइराला, प्रा.डा. पेशल खनाल, शिक्षा विकास समन्वय ईकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमलगायतको आतिथ्यता रहेको थियो ।