प्रदेश सरकारले लगानीको मोडेल बनाएर काम गर्छः मुख्यमन्त्री जम्कट्टेल
११ जेठ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले लगानीको मोडेल बनाएर नै काम गर्ने बताउनुभएको छ ।
उहाँले कानुनी जुटिलताहरुलाई फुकाएर सरकार र व्यवसायीको संयुक्त लगानीमा काम गर्ने गरी आव्हान गरिने बताउनुभयो । शुक्रवार हेटौँडामा भएको कारोबार आर्थिक बहसमा बोल्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले कृषि, पर्यटन र जलविद्युतलाई मुख्य प्राथमिकतामा राखेर नै आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने बताउनुभयो । उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने खालका योजनालाई मात्र प्रदेश सरकारले प्राथमिकता दिने उहाँको भनाई छ । मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारको पहिलो प्राथमिकतामा कृषि क्षेत्र नै रहेको बताउनुभयो । उहाँले प्रदेशको एक निर्वाचन क्षेत्र एक पर्यटकीय गन्तव्य, एक निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल उद्योग स्थापना गर्ने प्रदेश सरकारको योजना रहेको समेत जिकिर गर्नुभयो ।
महिलाहरुलाई उद्यमशील बनाउन ३५ पालिकासँग गृहिणी महिला सशक्तिकरणका लागि सम्झौता गरिसकेको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिनुभयो । त्यसैगरी चेपाङ समुदायको विकासका लागि चेपाङ, चिउरी र चमेरो कार्यक्रम मकवानपुर, चितवन र धादिङको ६ वटा पालिकाहरुमा संचालन गरिएको उहाँको भनाई छ । सरकारले पाँच लाख चिउरीको बिरुवा रोपण गर्ने तयारी गरेको मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो ।
कारोबार दैनिकका सम्पादक बालकृष्ण ज्ञवालीको सभाध्यक्षतामा भएको कार्यक्रममा नीति तथा योजना आयोगका प्रा.डा नरविक्रम थापा, बागमती प्रदेश सहकारी बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटा, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण कटुवाल, नेपाल ट्रक व्यवसायी महासंघका केन्द्रीय सदस्य बद्री चौलागाईं, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।