बागमतीका कृषि मन्त्री श्रेष्ठको एकवर्षे उपलब्धीहरु सार्वजनिक
८ जेठ, हेटौँडा । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले एकवर्षे उपलब्धीहरु सार्वजनिक गर्नुभएको छ ।
गत २०८० जेठ ६ गते मन्त्री बन्नु भएका श्रेष्ठले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै १५ वटा नीतिगत उपलब्धीहरु र ११ वटा कार्यक्रमगत उपलब्धीहरु सार्वजनिक गर्नुभएको हो । एक प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र, एक प्राङगरिक मल कारखाना स्थापनाको लागि चालु आर्थिक वर्षको बजेट र कार्यक्रममा समावेश गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो । समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम ५ वर्षसम्म सञ्चालनको लागि कार्यविधि स्वीकृतीलाई पनि मन्त्री श्रेष्ठले आफ्नो नीतिगत उपलब्धिमा समावेश गर्नुभएको छ । उहाँले दुधको बिक्रीमा आएको समस्यालाई हल गर्न र दुधको गुणस्तर सुधारको लागि आवश्यक कार्यक्रमहरु समेत सञ्चालन गरेको दाबी गर्नुभयो ।
यसैगरी मन्त्री श्रेष्ठले लम्पी स्क्रिन रोग नियन्त्रण तथा रोकथामको लागि चलाइएको १ हप्ते अभियानमा ४८ हजार ३ सय ६४ गाईलाई निःशुल्क खोप लगाइएको बताउनुभयो । यसैगरी उपलब्धि विवरणमा भेडा बाख्रामा लाग्ने पिपिआर रोग नियन्त्रण र रोकथामको लागि ११ लाख ४२ हजार भेडा ब्राखालाई खोप लगाइएको उल्लेख गरिएको छ । यस्तै प्रदेशका ८ जिल्लाका १० स्थानमा निर्माणाधीन शीत भण्डारहरुको निर्माण कार्य ८६ प्रतिशत सकिएको र छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गरी हस्तान्तरणको क्रममा रहेको समेत उहाँले बताउनुभयो ।
मन्त्री श्रेष्ठले उपलब्धी सार्वजनिक पश्चात सञ्चारकर्मीहरुको जिज्ञासाहरुलाई समेत सम्बोधन गर्नुभएको थियो । पत्रकार सम्मेलनमा मन्त्रीका सल्लाहकार डा. नारायणबहादुर श्रेष्ठ, मन्त्रालयका सचिव विनोदकुमार भट्टराई, महाशाखा प्रमुखहरु भरतप्रसाद विडारी र सुजन कंडेल लगायत मन्त्रालयका विभिन्न शाखाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।