प्रदेशगत संरचनालाई बजेटले थप मजबुद र स्थायित्व दिन्छः मन्त्री थपलिया
७ जेठ, हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारले तर्जूमा गर्ने बजेट संघीयताको पूर्ण कार्यान्वयन गर्ने तर्फ लक्षित भएको बताउनुभएको छ ।
संघीयताको मर्म र भावना अनुरुप प्रदेशगत संरचनालाई बजेटले थप मजबुद र स्थायीत्व दिने उहाँको भनाई छ । बिनियोजन विधेयक २०८१ को सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुकोे जवाफ दिंदै मन्त्री थपलियाले सन्तुलित र दीगो विकास, गरिबी निवारण र रोजगारीमा वृद्धि गर्नु नै प्रदेश सरकारको बजेटका सिद्धान्त, प्राथमिकता र कार्यक्रमको लक्ष्य रहेको स्पष्ट पार्नुभयो । उहाँले यूवाको विदेश पलायन रोक्ने, जनताका आधारभूत आवश्यकताको परिपूर्ती, सेवा क्षेत्रहरुको सेवा विस्तार र सुधार, दीगो र वातावरण मैत्री पूर्वाधार विकासलाई प्रदेश सरकारले महत्वका साथ हेरेको दाबी गर्नुभयो ।
मन्त्री थपलियाले सरोकारवालाहरु सँग विभिन्न चरणमा घनीभुत छलफल गरी प्राप्त भएका सान्दर्भिक सुझावहरु समेत समावेश गरेरे सिद्धान्त र प्राथमिकता तय गरेको बताउनुभयो ।
मन्त्री थपलियाले वातावरण संरक्षणका क्षेत्रमा फोहोरमैला व्यवस्थापन, कार्वन उत्सर्जन न्यूनीकरणलाई आगामी बजेटमा कार्यक्रम मार्फत सम्बोधन गरिने बताउनुभयो । उहाँले सबै क्षेत्रहरुमा प्रदेश सरकारले समान प्राथमिकता तथा आवश्यकता र औचित्यताका आधारमा बजेट विनियोजन गर्ने समेत स्पष्ट पार्नुभयो ।
मन्त्री थपलियाले प्रदेश सरकारले आयातित काठको निर्भरतालाई प्रतिस्थापन गर्दै काठ दाउरा उत्पादन र वनपैदावरको आयातलाई प्रतिस्थापन गर्ने विषयमा प्रदेश सरकारले जोड दिएको समेत बताउनुभयो ।
मन्त्री थपलियाले सिद्धान्त र प्राथमितामा तोकेर नलेखिए पनि ती विषयहरु प्रदेश सरकारको विषयगत मन्त्रालयले र मातहतका निकायबाट कार्यान्वयन गर्ने गरी बजेटमा समावेश हुने समेत बताउनुभयो ।