बागमती प्रदेशसभाका संसदीय समितिका ६ जना सभापतिद्वारा शपथ ग्रहण
७ जेठ, हेटौँडा । बागमती प्रदेशसभाका संसदीय समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रदेशसभा सचिवालयमा सोमबार आयोजित एक समारोहमा विषयगत समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सभामुख भुवनकुमार पाठकले सभापतिहरुलाई शपथ ग्रहण गराउनुभएको हो । प्रदेश मामिला समितिका सभापति छिरिङदोर्जे लामा, सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछाने, शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुरप्रसाद ढकाल, उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ, अर्थ तथा विकास समितिको सभापति नुरज बज्राचार्य र विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले शपथ ग्रहण गरेका हुन् । सोमबार नै समितिका सभापतिहरुले पदभार समेत ग्रहण गरेका छन् ।
संसदको दोश्रो कार्यकाल सुरु भएको १८ महिनापछि बागमती प्रदेश सभामा संसदीय समिति थप गरेर समितीको सभापतिका लागि भागबन्डा मिलाइएको हो । विगतको ५ वटा संसदीय समितीमा विशेषाधिकार समिति थप गर्ने सहमति दलहरुबीच भएको हो । जसअनुसार कांग्रेसले प्रदेश मामिला र सार्वजनिक लेखा समिति गरी २ वटा, एमालेले उद्योग, पर्यटन तथा वातावरण, माओवादीले शिक्षा, स्वास्थ्य तथा कृषि, राप्रपाले अर्थ तथा विकास र नेकपा एकीकृत समाजवादीले विशेषाधिकार समितिको सभापतिको नेतृत्व पाएको हो ।