संसदीय समिति थप गरेर बागमतीमा भागबन्डा मिलाइयो
४ जेठ, हेटौँडा । बागमती प्रदेश सभामा संसदीय समिति थप गरेर समितीको सभापतिका लागि भागबन्डा मिलाइएको छ ।
प्रदेश सभा नियमावली २०७४ मा विशेषाधिकार समिति थप गर्न सकिने व्यवस्था अनुसार विशेषाधिकार समिति थप गरिएको हो । सभामुख भुवन कुमार पाठकको आव्हानमा शुक्रबार बसेको सर्वदलिय बैठकले विगतको ५ वटा संसदीय समितीमा एउटा समिति थप गर्ने सहमति गरेको हो । विशेषाधिकार समितिको नेतृत्व एकिकृत समाजवादीलाई दिने निर्णय भएको छ । कांग्रेसलाई २ वटा, एमाले माओवादी, राप्रपा र एकीकृत नेकपा सामजवादीलाई एक–एक वटा समितीको नेतृत्व दिने बैठकले सहमती जुटाएको हो ।
शुक्रबार चारवटा संसदीय समितीको सभापति निर्वाचनका लागि चार जनाले मनोनयन दर्ता गराएका छन् । प्रदेश मामिला समितीमा नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा, सार्वजनिक लेखा समितीमा नेपाली कांग्रेसकै श्रीराम लामिछानेको उम्मेदवारी परेको छ । त्यसैगरी अर्थ समितीमा राप्रपाका नुरज बज्राचार्यले मनोनयन दर्ता गरेका छन् । शिक्षा स्वास्थ्य तथा कृषि समितिमा माओवादी केन्द्रका ठाकुर ढकालले उम्मेद्वारी दिएका छन् । नेकपा एमालेले पाएको उद्योग तथा वातावरण समिति र एकिकृत समाजवादीले पाएको संसदीय विशेषाधिकार समितिमा भने शनिबार उम्मेदवारी दिने भएका छन् । उद्योग पर्यटन तथा वातावरण समितीमा एमालेका आनन्द श्रेष्ठ र विशेषाधिकार समितीमा एकीकृत समाजबादीका मायादेबी शर्मालाई दिने सहमती भएको छ ।