बागमती प्रदेशको बजेट अधिवेशन वैशाख ३१ गते बोलाउन प्रदेशप्रमुखलाई सिफारिस

स्वर्णिम खबर
२७ बैशाख २०८१, बिहीबार १२:३०

२७ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन वैशाख ३१ गते आह्वान गर्न सिफारिस गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते दिनको १ बजे बजेट अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट निर्माणको तयारीमा छ । यसैगरी बैठकले नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० को पहिलो संशोधन लाई स्वीकृत गरेको छ । हात्तीसुडे–शिखरपुर–अम्बा सडकको स्तरोन्नतिको लागि रुख कटान गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको मन्त्री श्रेष्ठले बताउनुभयो ।
बैठकले खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम सञ्चालन पहिलो संशोधन कार्यविधि २०८१ लाई स्वीकृत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*