प्रदेश सरकारी कामकाजको भाषा ऐन कार्यान्वयनमा

स्वर्णिम खबर
२४ बैशाख २०८१, सोमबार १२:५७

२४ वैशाख, हेटौँडा । प्रदेश सरकारी कामकाजको भाषा ऐन कार्यान्वयनमा आएसँगै बागमती प्रदेश सरकार मातहातका सरकारी कार्यालयहरुको साइनबोर्ड फेरिएका छन् ।
प्रदेश सरकारी कामकाजको भाषा ऐन लागू भएसँगै बागमती प्रदेश अन्तर्गतका मन्त्रालय, प्रदेश सभा, प्रदेश सभा सचिवालय लगायतका प्रदेश सरकारी कार्यालयमा तीन वटा भाषामा लेखिएका साइनबोर्ड राखिएको छ । नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा लेखिएका साइनबोर्ड प्रयोगमा ल्याइएको हो । यसअघि कार्यालयका बोर्ड देवानगरी अर्थात् नेपाली भाषामा मात्रै लेखिएका थिए । साइन बोडैसँगै प्रदेश सरकार मातहतका कार्यालयका लेटरप्याड समेत तीन भाषामा लेखिने छ ।
नेपाली भाषा मात्रै सरकारी कामकाजको भाषाको रुपमा प्रगोग हुँदै आएको प्रदेशमा भाषा ऐन लागूभएसँगै प्रदेश सरकारको नियमन क्षेत्राधिकार भित्रका सरकारी निकाय, सार्वजनिक संस्थान, तथा प्रतिष्ठान लगायतमा सरकारी कामकाजको भाषाको रुपमा तीन भाषा प्रयोगमा आउनेछन् ।


गत असोज २२ मा बागमती प्रदेशसभाबाट ’प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ पारित भएको थियो भने कार्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । राजपत्रमा प्रकाशित भएको १८० औँ दिनमा ऐन कार्यान्वयनमा आउने कानुनी व्यवस्था अनुसार आजबाट ऐन कार्यान्वयनमा आएको हो । सरकारी कामकाजको भाषा शुभारम्भ भएको अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*