चौकीटोलदेखि राप्तीपुल रिङ रोडसम्मको स्लाब ढलानको शिलान्यास
२० वैशाख, हेटौँडा । हेटौंडा १ चौकीटोलदेखि राप्तीपुल रिङ रोडसम्मको स्लाब ढलानको शिलान्यास गरिएको छ ।
बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिचाई मन्त्री एकालाल श्रेष्ठले बिहिबार स्लाब ढलानको शिलान्यास गर्नुभएको हो । प्रदेश सरकार अन्तर्गतको शहरी विकास तथा भवन कार्यालयको २५ लाख बजेट र स्लाब ढलान निर्माण उपभोक्ता समितिको २ लाख ६७ हजार रकमबाट स्लाब ढलानको निर्माण कार्य सुरु गरिएको हो । कार्यक्रममा बोल्नुुहुँदै मन्त्री श्रेष्ठले तरकारी बजारलाई लक्षित गरेर नै स्लाब ढलानको लागि बजेट बिनियोजन गरेको बताउनुभयो ।भौगौलिक रुपमा विकट क्षेत्रलाई प्राथमिकतामा राखेर खानेपानी, सिचाई, सडकमा सरकारले आवश्यक बजेट छुट्याउने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री श्रेष्ठले निर्धारित समयभित्र निर्माण कार्य सक्न पनि उपभोक्ता समितिलाई निर्देशन दिनुभयो ।
उपभोक्ता समितिका अध्यक्ष गोविन्द दाहालले २०८१ असार मसान्त भित्र निर्माण कार्य सक्ने गरी काम थालिएको बताउनुभयो । २ सय ४४ मिटर लम्बाई रहेको स्लाबको चौडाई ६ मिटर र मोटाई ८ इन्च रहेको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।