तीनवटै तहको सरकारबीच तानातानको स्थिति देखियोः मन्त्री श्रेष्ठ
१४ वैशाख, हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले तीन तहका सरकारबीच समन्वयको अभाव हुँदा साझा अधिकारको सुचीमा रहेका कानुनहरु बनाउन नसकिएको बताउनुभएको छ ।
एकल अधिकारको सुचीमा रहेका कानुनहरु बने पनि सोचे अनुरुपमा साझा अधिकारका कानुनहरु बनाउन नसकिएको उहाँले बताउनुभयो । हेटौंडामा शुक्रबार भएको स्थानीय तहका पदाधिकारी तथा कर्मचारीको लागि अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै मन्त्री श्रेष्ठले सरकारहरुबीच तानातानको स्थिति हुँदा कानुन निर्माणको प्रक्रियालाई अघि बढाउन नसकिएको स्वीकार गर्नुभयो । उहाँले तीन तहको साझा अधिकारको सूचिमा रहेको कानुन निर्माण गर्न नसक्दा नागरिकले पाउनुपर्ने सेवा, सुविधा पाउन नसकेको बताउनुभयो । संविधानमा नै स्थानीय तहको २२ र प्रदेशको २१ वटा अधिकार सुचीकृत भएपनि कानुनको अभावमा ति अधिकारहरुलाई प्रयोग गर्न कठिनाई भएको उहाँको भनाई छ ।
मन्त्री श्रेष्ठले न्यायिक समिति संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले ल्याएको नयाँ व्यवस्था भएको जिकिर गर्नुभयो । उहाँले न्यायिक समितिबाट न्याय निरुपण हुँदा राजनीतिक दलको छायाँ पर्न नहुने बताउनुभयो । मन्त्री श्रेष्ठले न्याय निरुपण गर्दा जनताले उठाएका प्रश्नहरुलाई निष्पक्ष र तटस्थ ढंगले नै समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश सरकारले प्रदेशका ७२ वटा गाउँपालिकामा न्यायिक सहजकर्ता पठाएको जानकारी समेत दिनुभयो ।
मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा योजना बैंकको व्यवस्था गर्ने बताउनुभयो । पहुँचको आधारमा गरिएको विकासले देशलाई समृद्धिको बाटोमा लैजान नसक्ने उहाँको भनाई छ । मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकार बजेट निर्माणको मोडालिटी नै परिवर्तन गर्ने प्रक्रियामा रहेको समेत बताउनुभयो । उहाँले प्रदेश सांसद्हरु विकासको भारी बोक्ने भन्दा पनि कानुन निर्माणमा केन्द्रित हुनुपर्ने जिकिर गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव राजेन्द्र थापाले न्यायिक समिति, अधिकार क्षेत्र, अधिकार क्षेत्रको प्रयोग, कानून निर्माण प्रक्रिया, मेलमिलापमा न्यायिक समितिको भूमिका र उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधिश यमुना भट्टराईले न्यायिक प्रक्रियाबारे प्रशिक्षण दिनुभएको थियो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूर्ण बहादुर दर्जीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलान, हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा लगायत चितवन र मकवानपुरका स्थानीय तहका प्रमुख, उपप्रमुखको उपस्थिती रहेको थियो ।