प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा
२२ चैत्र, हेटौँडा । बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा यही चैत २५ गतेबाट हुन लागेको प्रथम अन्तर प्रदेशस्तरीय प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
चितवनको भरतपुर महानगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीले चैत २५ गतेदेखि बैशाख १ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ । प्रतियोगितामा १ सय ३६ स्वर्ण, १ सय ३६ रजत र १ सय ८४ कांस्य पदकका लागि ७ प्रदेशका एक हजार ५ सय ४७ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता छनोट हुने खेलाडीहरुलाई प्रशिक्षण दिएर १० औँ संस्करणको राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने सदस्य सचिव भण्डारीले बताउनुभयो । प्रतियोगिताको उद्घाटन चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुनेछ भने समापन हेटौंडा–६ स्थित गौरीटार रंंगशालामा बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले गर्नुहुनेछ ।
प्रतियोगितामा ७ प्रदेशका खेलाडीहरुबीच ९ वटा विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता अन्र्तगत पुरुष फुटबल हेटौंडाको गौरीटार रंगशालामा हुनेछ भने बाकीको ८ वटा खेलहरु भरतपुर महानगरपालिकामै हुनेछ ।
एथ्लेटिक्स चैत २६ र २७ गते चितवनको चित्रवन रंगशालामा र २६ गतेदेखि २८ गतेसम्म भलिबल भरतपुरको गेष्ट हाउस चौरमा हुनेछ । यस्तै कराँतै र तेक्वाने चैत २६ र २७ गते भरतपुर महानगरपालिकाको औद्योगिक प्रर्दशनी हलमा हुनेछ ।
पौडी प्रतियोगिता २६ र २६ गते एल्टीडी हबेलीमा र व्याडमिन्टन चैत २६ गतेदेखि २८ गतेसम्म भरतपुर महानगरपालिकाको कर्भड हलमा हुनेछ । महिला क्रिकेट २४ गतेदेखि २७ गतेसम्म गौतमबुद्ध क्रिकेट रंगशालामा र पुरुष क्रिकेट चैत २८ गतेदेखि बैशाख १ गतेसम्म हुनेछ ।
महिला फुटबल चैत २६ गतेदेखि बैशाख १ गतेसम्म बखत स्मृति रंगशालमा र बक्सिङ औद्योगिक प्रर्दशनी कर्भड हलमा चैत २६ गतेदेखि २९ गतेसम्म हुनेछ । प्रतियोगितालाई सफलता पूर्वक सम्पन्न गर्नका लागि सामाजिक विकास मन्त्री एवम् परिषदकी अध्यक्ष कुमारी मोक्तानको सभाध्यक्षमा मुल समारोह समिती गठन गरिएको छ भने सदस्य सचिव भण्डारीको अध्यक्षतामा कार्यकारी समिति गठन गरिएको छ ।
प्रतियोगितामा स्वर्ण रजत र कास्य पदकको विजेता टिमले क्रमशः ५ हजार रुपैयाँ, ४ हजार रुपैयाँ र ३ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उपाधि विजेता टिमले ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले सर्वोकृष्ट खेलाडीले १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताका लागि करिब १२ करोड रुपैयाँको खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता सहभागी हुने खेलाडीहरुको खर्च प्रदेश खेलकुदले व्यर्होनेछ । यस्तै खेलाडीहरुलाई ट्रयक सुट, जुत्ता, मोजा र टावल पनि प्रदान गरिनेछ ।