बागमती प्रदेश सरकारद्वारा अनलाईनमार्फत पटके बाटो इजाजत पत्र भुक्तानी प्रणाली शुभारम्भ
१३ चैत्र, काठमाडौँ । वागमती प्रदेश सरकारले अनलाईनमार्फत पटके (अस्थायी) बाटो इजाजत पत्र भुक्तानी प्रणाली शुरु गरेको छ ।
मंगलवार भक्तपुरको सल्लाघारीस्थित यातायात व्यवस्था सेवा कार्यालयमा एक कार्यक्रमबीच वागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले सो भुक्तानी प्रणालीको शुभारम्भ गर्नुभएको हो । त्यस अवसरमा उहाँले सेवाग्राहीलाई सुविधा दिन र राजश्व संकलनमा समेत तलमाथि नहोस् भन्ने उद्देश्यका साथ सो सेवा शुरुवात गरिएको बताउनु भयो । मन्त्री लम्सालले सो सेवा शुरुवात गरेर मन्त्रालयले एउटा महत्वपूर्ण काम गरेको उल्लेख गर्दै अरु धेरै सुधारको कामहरु गर्न बाँकी रहेको जिकिर गर्नुभयो ।
कार्यक्रममा बोल्दै भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सो अनलाईन सेवाले सुशासनको क्षेत्रमा महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।